Friday, August 3, 2012

फेसबुकको नाता



उहिले 'इसा'लाई आधार मानेर युगलाई दुई चरणमा बाँडिएको थियो- इसापूर्व र इसापश्चात्। अब फेसबुकलाई केन्द्रमा राखेर युगलाई बाँड्ने  बेला भएको छ- फेसबुकपूर्व र फेसबुकपश्चात् युग ! फेसबुकपूर्वको युगमा बाबा-आमा हुन्थे। सासु-ससुरा भनिन्थे। साइनो-सम्बन्धअनुसार  सम्बोधन गरिन्थ्यो, तर फेसबुकपश्चात् सबै नाता-गोताहरू Friend मा सीमित हुन पुगे। साली-भेना पनि Friend, काका-मामा पनि  Friend, बाबु-छोरा पनि Friend हुन थालेपछि फेसबुकले सम्बन्धको जालोलाई कालो बनायो भन्न सकिन्छ।

त्यसो त जुत्ताको साइज मिल्न थालेपछि बाबु-छोरा पनि साथी हुन्छन् भनिन्छ। त्यस अर्थमा सेन्डलको साइज मिलेपछि आमा-छोरीबीचमा पनि  मित्रता रहने नै भयो, तर साइज मिल्दैमा न छोराले 'बाबु जन्माएको' भनेर मान्न सकिन्छ, न त छोरीले 'आमा पाएको' कुरालाई स्वीकार गर्न  सकिन्छ। यद्यपि छोराको एकाउन्टबाट Friend बन्नलाई Request आएपछि बाबुले के बुझ्ने ? छोरो लाठे भएछ भन्ने बुझ्ने कि आफू  फुच्चे भइएछ भनेर सम्झने ? यसरी फेसबुकपश्चात्को पारिवारिक सबन्ध बडो अन्यौलमा छ।

उमेरमा आफूभन्दा सानी हुन् कि ठूली, सबै साथीकी श्रीमतीलाई 'भाउजू' भन्नु राम्रो हुन्छ। हाम्रो समाजमा भाउजू र आमाको स्थान एउटै  हुन्छ, तर जिन्दगीभर भाउजू सम्बोधन गरिएकी साथीकी श्रीमतीले अकस्मात् Friend बन्न Request पठाउँदा खुसीले पागल बन्नु कि  तनाव लिएर टाउको ठोक्नु ? फेसबुकपश्चात्को साइनो अन्योलमा छ ! अझ आफ्नी बहिनीलाई समेत Friend बन्न Suggestion,  सजेसन गर्ने भाउजूको नियतमाथि शंका गर्ने कि फेसबुक फेल भएको मान्ने ? प्रश्न झन् गम्भीर छ।

यस्तो लाग्छ, फेसबुक युगको सुरुवातसँगै हामीमा संवेदनाको कमी हुँदै गएको छ। फेसबुकपूर्वको युगमा आफन्तको दुःखमा सहानुभूति  दिइन्थ्यो। उनीहरूको सुख प्राप्तिको अवसरमा बधाई दिइन्थ्यो। फेसबुकपश्चात्को युगले यो भावलाई उल्टयाइदिएको छ। 'रुघाखोकीले ग्रस्त  बनायो' भन्ने कुनै मित्रको क्तबतगक लाई हेर्नुस्। त्यसको ठ्याक्कै मुनि तपाईंका Friend ले ठोकिदिन्छन्- Like ! लाइकको मतलब रुघाखोकी लागेको जानकारी तपाईंको मित्रलाई औधी मन परेको छ। दुखद क्तबतगक को मुनि रहने Like को संकेत देर्दा यस्तो लाग्छ-  फेसबुकपश्चात्को मानिस अरूको दुखमा रमाइलो मान्छ।

फेसबुकको आगमनपछि 'सञ्चै ?', 'आरामै ?' जस्ता शब्द सुन्नै छोडिएको छ। Status 'पोष्ट' गर्नुभयो ? 'Coment हान्नुभयो ?' जस्ता  वाक्य हरेकका मुखबाट सुन्न सकिन्छ। यस्तो लाग्छ- गाँस, बास र कपास मानिसको आधारभूत आवश्यकता होइन, 'इन्टरनेट' र 'फेसबुक'  भयो भने आधारभूत आवश्यकता पूरा भयो।

फेसबुकले युवामात्र होइन, वयस्क र वृद्धहरूको जीवनशैली पनि कायापलट गरेको छ। फेसपूर्वका युवा बिहानै उठेर आरती गर्न थाल्थे भने  अहिले स्टाटस अपडेड गर्न थाल्छन्। साँझ पर्नासाथ सत्संगमा संलग्न हुने आन्टीहरू कमेन्ट रिभ्यू गर्न थाल्छन्। ध्यानबाट सुरु हुने मानिसको  दैनिकी फेसबुकबाट सुरु हुन थालेको छ। धर्मबाट अन्त्य हुने हाम्रो बेलुकी फेसबुकबाटै सकिन थालेको छ। त्यसैले त भनिन्छ, फेसबुक एक  युगको समाप्ति र अर्को युगको सुरुवात हो।
 Source:
मनोज गजुरेल(http://www.ekantipur.com/saptahik/article/?id=8063)